Tuesday, 21 January 2025

म रित्तिएं तिमीले भरिदिनु

                        लालीगुरांश  (सिर्जना भण्डारी)


 पिरतीको गोरेटोमा भेटिनु, छुटिनु चलिरहन्छ

हाम्रो गारेटो गोलाइमा घुमिरहने परेछ

भेटिन सक्यौं छुटिन

हराएछु घुम्दाघुम्दै तिमीले भेटाउनु

 

पिरतीको गणितमा भरिनु, रित्तिनु चलिरहन्छ

हाम्रो गणितको जोडको सुत्र मिलेनछ

भरिन सक्यौं रित्तिन

रित्तिएछु जोड्दाजोड्दै तिमीले भरिदिनु

 

पिरतीको लक्ष्यमा पुग्नु, नपुग्नु चलिरहन्छ

हाम्रो लक्ष्य मृगतृष्णाको प्यास बनेछ

पुग्यौ प्यास मेटियो

प्यासीनै रहीरहें तिमीले मेटाउनु

 

पिरतीको पर्खाइमा आश, निराश चलिरहन्छ

हाम्रो आश महत्वकांक्षामा फसेर बसेछ

तृप्ति मिल्यो अतृप्ति

भूलभुलैयामा फसिरहें तिमीले सुल्झाउनु

 

पिरतीको फूलवारीमा रंगीविरंगी फूलहरु झुलिरहन्छन्

हाम्रो फूलवारी स्वप्नको स्वर्गनगरी रहेछ

फूलविरुवा रोपियो हुर्काइयो

असक्षम रहीरहें तिमीले फुलाउनु

 

पिरतीको महाआकाशमा तडप, आनन्द चलिरहन्छ

हाम्रो आकाश विराट अन्तरिक्ष रहेछ

देख्न सक्यौं नाप्न

पछाडि परिरहें तिमीले पर्खिरहनु

No comments:

Post a Comment

चुपचाप लय मिलाइरहेछ प्रेम

                    लालीगुरांश   ( सिर्जना   भण्डारी ) न म केही बोल्छु न तिमी केही बोल्छौ तरपनि संवादमै छौं हामी चुपचाप निशव्दमा बहिरहेछ प्र...