Tuesday, 17 June 2025

धेरै खुशी बाड्नुछ तिमीसंग

                 लालीगुरांश  (सिर्जना भण्डारी)

 

कति कुरा भन्नुछ तिमीलाई

कति कुरा सोध्नुछ तिमीलाई

धेरै खुशी बाड्नुछ तिमीसंग

थोरै पिडा साट्नुछ तिमीसंग ।

 

हृदयको क्यानभासमा सजाएकोछु तिमीलाई

मनमन्दिरको केन्द्रमा राखेकोछु तिमीलाई

आँखाको नानीमा देखेकोछु तिमीलाई

आत्मप्रेमको नगरमा भेटेकोछु तिमीलाई ।

 

हातमाहात राखी हिड्नुछ तिमीसंग

एकसाथ अघि बढ्नुछ तिमीसंग

प्रेमको फूलबारी लगाउनुछ तिमीसंग

प्रीतीको फूल सजाउनुछ तिमीसंग ।

 

खुशीमा संधै हाँसीरहन्छु तिमीसंगै

रोदनमा संधै रोइरहन्छु तिमीसंगै

शान्तिमा अमृतझैं वर्षिरहन्छु तिमीसंगै

आनन्दमा समुद्रझै बहिरहन्छु तिमीसंगै ।

 

बितेका स्मृतिहरुमा हराइरहन्छु तिमीभित्रै

प्रेमल पलहरुमा डुबिरहन्छु तिमीभित्रै

सपनामा बोलाउछौ बोलिरहन्छु तिमीभित्रै

बिपनामा चिहाउछौ मुस्कुराउछु तिमीभित्रै ।

 

भाकामा आइदिन्छौ गुनगुनाइरहन्छु तिमीलाई

शुरमाशुर मिलाउछौ आलापिरहन्छु तिमीलाई

संगीतमा गुञ्जिन्छौ गाइरहन्छु तिमीलाई

नृत्यमा छमछमाउछौ हेरीरहन्छु तिमीलाई ।

 

संगीतमा गुञ्जिन्छौ गाइरहन्छु तिमीलाई

नृत्यमा छमछमाउछौ हेरीरहन्छु तिमीलाई ।।

No comments:

Post a Comment

चुपचाप लय मिलाइरहेछ प्रेम

                    लालीगुरांश   ( सिर्जना   भण्डारी ) न म केही बोल्छु न तिमी केही बोल्छौ तरपनि संवादमै छौं हामी चुपचाप निशव्दमा बहिरहेछ प्र...