लालीगुरांश (सिर्जना भण्डारी)
पिरतीको गोरेटोमा भेटिनु, छुटिनु चलिरहन्छ
हाम्रो गारेटो गोलाइमा घुमिरहने परेछ
न भेटिन सक्यौं न छुटिन
म हराएछु घुम्दाघुम्दै तिमीले भेटाउनु ।
पिरतीको गणितमा भरिनु, रित्तिनु चलिरहन्छ
हाम्रो गणितको जोडको सुत्र मिलेनछ
न भरिन सक्यौं न रित्तिन
म रित्तिएछु जोड्दाजोड्दै तिमीले भरिदिनु ।
पिरतीको लक्ष्यमा पुग्नु, नपुग्नु चलिरहन्छ
हाम्रो लक्ष्य मृगतृष्णाको प्यास बनेछ
न पुग्यौ न प्यास मेटियो
म प्यासीनै रहीरहें तिमीले मेटाउनु ।
पिरतीको पर्खाइमा आश, निराश चलिरहन्छ
हाम्रो आश महत्वकांक्षामा फसेर बसेछ
न तृप्ति मिल्यो न अतृप्ति
म भूलभुलैयामा फसिरहें तिमीले सुल्झाउनु ।
पिरतीको फूलवारीमा रंगीविरंगी फूलहरु झुलिरहन्छन्
हाम्रो फूलवारी स्वप्नको स्वर्गनगरी रहेछ
न फूलविरुवा रोपियो न हुर्काइयो
म असक्षम रहीरहें तिमीले फुलाउनु ।
पिरतीको महाआकाशमा तडप, आनन्द चलिरहन्छ
हाम्रो आकाश विराट अन्तरिक्ष रहेछ
न देख्न सक्यौं न नाप्न
म पछाडि परिरहें तिमीले पर्खिरहनु ।