लालीगुरांश (सिर्जना भण्डारी)
मैले कहिल्यै बुझाउनै सकिन
जे महसुस गरें तिम्रोलागि
सायद अज्ञानमा समझ पुगेन
सायद डरैडरमा हिम्मत भएन
सायद बेहोसमा ढंग मिलेन
सायद मैले सम्भव ठानिन
होसमा पछाडि फर्केर हेर्दा
समय छुटेर अगाडि बढिसकेछ
अहिले बुझ्दैछु, ढिलो भएछ
समय होइन म छुटेछु
बुझाउन नजानेर पछाडि परेछु।
मैले कहिल्यै भन्नै सकिन
जे भन्न चाहान्थें तिमीसंग
जो हृदयबाट गलासम्म आयो
तर मुखमा आएर अड्कीयो
भित्रभित्रै उठ्दै, ढल्दै गरिरह्यो
दन्किदै, जल्दै, निभ्दै भैरह्यो
मुस्कुराउदै, शरम मान्दै लुकिरह्यो 
होसमा पछाडि फर्केर हेर्दा
समय छुटेर अगाडि बढिसकेछ
अहिले बुझ्दैछु, ढिलो भएछ
समय होइन म छुटेछु
भन्न नजानेर पछाडि परेछु।
मैले कहिल्यै हेराउनै सकिन
जे देखाउन चाहान्थें तिमीलाई
नयन रुझ्दै, ओभाउदै बहिरहे
आकाश, जमिन मात्र हेरीरहे
बन्द हुदै, खुल्दै झुकिरहे
सांकेतिक भाषामा सिमित भए
होसमा पछाडि फर्केर हेर्दा
समय छुटेर अगाडि बढिसकेछ
अहिले बुझ्दैछु, ढिलो भएछ
समय होइन म छुटेछु
देखाउन नजानेर पछाडि परेछु।
मैले कहिल्यै दिलाउनै सकिन
जे दिन चाहान्थें तिमीलाई
सायद अज्ञानमा समझ पुगेन
सायद डरैडरमा हिम्मत भएन
सायद बेहोसमा ढंग मिलेन
सायद मैले सम्भव ठानिन
होसमा पछाडि फर्केर हेर्दा
समय छुटेर अगाडि बढिसकेछ
अहिले बुझ्दैछु, ढिलो भएछ
समय होइन म छुटेछु
दिन नजानेर पछाडि परेछु।
No comments:
Post a Comment