Friday, 14 June 2024

💛💛💛तिमीनै एक लक्ष्य मेरो!

                 

                 लालीगुरांश  (सिर्जना भण्डारी) 

अधूरो झिसमिसे साँझ थिएं
तिमी पूरा रात बनेर आयौ
अधूरो अदृश्य सपना थिएं
तिमी दृश्य कल्पना भएर आयौ
तिमीमा डुब्नुनै एक लक्ष्य मेरो

मधूरो झूठो छायाँ थिएं
तिमी प्रगाढ काया बनेर आयौ
बाटोमा हराएको यात्री थिएं
तिमी मेरो गन्तव्य बनेर आयौ
तिमीलाई भेट्नुनै एक लक्ष्य मेरो।

चुडिएको तारको राग थिएं
तिमी पूरा संगीत बनेर आयौ
सुकेको बर्खे नदी थिएं
तिमी गहिरो समुद्र बनेर आयौ
तिमीमा पुग्नुनै एक लक्ष्य मेरो।

शिशिरको उजाड पतझड थिएं
तिमी वसन्तको हरियाली बनेर आयौ
ओइलाएर झरेको फूल थिएं
तिमी फक्रिएको गुलाव बनेर आयौ
तिमीमा फूल्नुनै एक लक्ष्य मेरो।

धिपधिप बलिरहेको बत्ती थिएं
तिमी जगमग ज्योति भएर आयौ
पिंजडामा फंसेको पंक्षी थिएं
तिमी खुल्ला आकाश बनेर आयौ
तिमीसंग उड्नुनै एक लक्ष्य मेरो।

No comments:

Post a Comment

चुपचाप लय मिलाइरहेछ प्रेम

                    लालीगुरांश   ( सिर्जना   भण्डारी ) न म केही बोल्छु न तिमी केही बोल्छौ तरपनि संवादमै छौं हामी चुपचाप निशव्दमा बहिरहेछ प्र...