लालीगुरांश (सिर्जना भण्डारी)
रंगीन सपनाहरुमा आइरहन्छौ तिमी
तिमीपनि मलाई देख्छौ होला
चुपचाप निष्पट्ट ती रातहरुमा
तिम्रापनि आँखा रसाउँछन् होला
तिमीलाईपनि यादहरुले रुवाउँछन् होला
बितेका पलहरुले तडपाउँछन् होला।
हरपल स्मरणमा छाइरहन्छौ तिमी
तिमीपनि मलाई सम्झिन्छौ होला
बिरानो सन्नाटाभरि ती पलहरुमा
तिम्रापनि भावहरु पग्लिन्छन् होला
तिमीलाईपनि सपनाहरुले जगाउँछन् होला
वर्तमानका स्मृतिहरुले सताउँछन् होला।
हरक्षण मभित्रै रमिरहन्छौ तिमी
तिमीमापनि म रम्छु होला
शुन्य, शान्त हृदयको तलाउमा
तिम्रापनि चाहनाहरु छचल्किन्छन् होला
तिमीलाईपनि कल्पनाहरुले झस्काउँछन् होला
भविश्यका योजनाहरुले बिउझाउँछन् होला।
हाम्रो हातमा हात नभएपनि
भौतिक रुपमा साथ नभएपनि
हरक्षण तिमीसंगै रमाइरहेको हुन्छु
पलपल तिमीमै हराईरहेको हुन्छु
तिम्रै कविता लेखिरहेको हुन्छु
तिमीभित्रै आफूलाई भुलाइरहेको हुन्छु।
तिमीभित्रै आफूलाई भुलाइरहेको हुन्छु।।
No comments:
Post a Comment