लालीगुरांश (सिर्जना भण्डारी)
नयनमा गहिरो प्रेम भरेर
तिमीले हृदय ओछ्याइदिएको पल
आफैंलाई बिर्सिएर अंगालोमा बाँधिएछु
प्रेमको मिठासमा तिमीभित्रै बिलाएछु ।
मुस्कुराउदै वाणिमा मादकता छरेर
तिम्रो प्रेमले पुकारेको पल
तिम्रै आवाजमा आवाज मिलाएछु
हृदयको पूर्णतासंगै पिरतीमै हराएछु ।
मोहक हाउभाउमा प्रेमरस मिलाएर
लवजमा संगीत गुन्जेको पल
खुशीका अश्रु मोतिदाना वर्षाएछु
बोल्न बिर्सिएर प्रेमवर्षा गराएछु ।
मुस्कानभरी मिठो हाँसो सिउरेर
नजर जुधाएर हेरेको पल
रसाएको तनमन तिमीतिरै झुकाएछु
मनको उद्गार लज्जाभित्र लुकाएछु ।
नयनमा गहिरो प्रेम भरेर
तिमीले हृदय ओछ्याइदिएको पल
आफैंलाई बिर्सिएर अंगालोमा बाँधिएछु
प्रेमको मिठासमा तिमीभित्रै बिलाएछु ।
प्रेमको मिठासमा तिमीभित्रै बिलाएछु ।।
No comments:
Post a Comment