Tuesday, 9 April 2024

प्रियतमको आगमनले बदलिएको ‘म’

                     लालीगुरांश (सिर्जना भण्डारी) 


प्रियतमको आगमनले म बदलिएं 
मेरो हेर्ने दृष्टि बदलियो 
हरदृश्यमा ब्रह्मण्डको विराटता देखिरहेछु 
मेरो श्रवणको आभास बदलियो 
हरध्वनिमा संगीतका तरंगहरु सुनिरहेछु 
मेरो स्पर्शको चाहना बदलियो 
भ्रमलाई चिरी वैराग्यतामा रमाइरहेछु 
मेरो स्वादको अपेक्षा बदलियो 
भक्तिको अमृतरसमा डुबुल्कि मारिरहेछु 
मेरो सुँघ्ने क्षमता बदलियो 
हरवस्तुमा सुगन्धित सुवास पाइरहेछु 
मेरो हृदयको अभिलासा बदलियो 
हरकोहीलाई प्रेम, करुणा बाँडिरहेछु 
मेरो आत्माको रुची बदलियो 
हरकोहीमा आफ्नै छवि देखिरहेछु 
मेरो चेतनाको अनुभूति बदलियो 
विराट अस्तित्वको सागरमा पौडिरहेछु । 

वतासका सुसेलीहरुमा संगीत हुन्छ 
यसअघि आभास भएकै थिएन 
तिमीले सुन्न सिकाइदियौ प्रियतम 
वर्षातको छमछममा नृत्य हुन्छ 
यसअघि महसुस गरेकै थिइन 
तिमीले नाच्न सिकाइदियौ प्रियतम 
तालको गहिराइमा शान्ति हुन्छ 
यसअघि अनुभव गरेकै थिइन 
तिमीले डुव्न सिकाइदियौ प्रियतम 
सागरको लहरमा एकाग्रता हुन्छ 
यसअघि बुझ्न सकेकै थिइन 
तिमीले धारणा सिकाइदियौ प्रियतम 
हृदयमा पिरतीको झंकार हुन्छ 
यसअघि अनुभूति भएकै थिएन 
तिमीले झुम्न सिकाइदियौ प्रियतम 
नजरमा प्रियतमको पर्खाइ हुन्छ 
यसअघि तृष्णा आएकै थिएन 
तिमीले पर्खन सिकाइदियौ प्रियतम 
कानलाई प्रियतमको प्यास हुन्छ 
यसअघि आभास जागेकै थिएन 
तिमीले अनुराग जगाइदियौ प्रियतम 
मनमा प्रियतमको तस्वीर हुन्छ 
यसअघि अनुभव गरेकै थिइन 
तिमीले स्मृति भरिदियौ प्रियतम 
 चेतनामा प्रियतमको वास हुन्छ 
यसअघि चाल पाएकै थिइन 
तिमीले उपस्थिति जनाइरह्यौ प्रियतम।। 

चेतनामा प्रियतमको वास हुन्छ
यसअघि चाल पाएकै थिइन 
तिमीले उपस्थिति जनाइरह्यौ प्रियतम।।

No comments:

Post a Comment

चुपचाप लय मिलाइरहेछ प्रेम

                    लालीगुरांश   ( सिर्जना   भण्डारी ) न म केही बोल्छु न तिमी केही बोल्छौ तरपनि संवादमै छौं हामी चुपचाप निशव्दमा बहिरहेछ प्र...