Monday, 29 April 2024

प्रेमको अद्वितिय परिभाषा💗💖

              लालीगुरांश  (सिर्जना भण्डारी) 


आँखामा आँशु प्रेम रहेछ
ओठमा मुस्कान प्रेम रहेछ
अधरमा चमक प्रेम रहेछ
मनमा चाहत प्रेम रहेछ
मिठो कल्पना प्रेम रहेछ
श्रृंगारीक सपना प्रेम रहेछ
अथक पर्खाइ प्रेम रहेछ
प्रेमीको याद प्रेम रहेछ
प्रेमीको नाद प्रेम रहेछ
प्रेमीको महक प्रेम रहेछ
प्रेमीमा आफू, आफूमा प्रेमी
नजर आउनु प्रेम रहेछ
हृदयभित्र अट्नु प्रेम रहेछ
समर्पित हुनु प्रेम रहेछ
आफैंलाई मेटाउनु प्रेम रहेछ
आफैंलाई भेटाउनु प्रेम रहेछ
आफूलाई बिर्सिदिनु प्रेम रहेछ 
आफूलाई रित्याउनु प्रेम रहेछ
प्रेमीलाई भरिदिनु प्रेम रहेछ
प्रेमीलाई सघाउनु प्रेम रहेछ
प्रेमीसंग लयवद्धता प्रेम रहेछ
प्रेमरसमा डुब्नु प्रेम रहेछ 
तनको प्रेम, प्रेम होइनरहेछ
यो केवल आकार्षण रहेछ
मनको प्रेम, प्रेम होइनरहेछ
यो केवल मोह रहेछ
वुद्धिको प्रेम, प्रेम होइनरहेछ
यो केवल स्वार्थ रहेछ
आत्मिय प्रेम, प्रेम रहेछ
जो स्वयं परमात्मा रहेछ 
प्रेमलेनै मानिसलाई भगवान बनाउनेरहेछ
प्रेमनै भगवान, भगवाननै प्रेम
प्रेम भगवानको पर्याय रहेछ
वास्तविक प्रेमको परिभाषा त
भगवानमा भक्त, भक्तमा भगवान
रहेको अनुभूति अन्तरतममा गर्नुरहेछ ।

वास्तविक प्रेमको परिभाषा त
भगवानमा भक्त, भक्तमा भगवान
भएको अनुभूति अन्तरतममा गर्नुरहेछ ।।

Saturday, 27 April 2024

त्यागी प्रेमी

                  लालीगुरांश  (सिर्जना भण्डारी) 


प्रेमको संसारमा सर्वाधिक त्याग
प्रेमरसमा डुवेर प्रेमीहरुले गरिदिदारहेछन्
प्रेमिकाले एक कदम बढाउँदा
प्रेमीले हजार कदम बढाइदिदारहेछन्
मौनतामै नजरको प्रेमल हेराइमा
प्रेम, चाहत, भावना पोखिदिदारहेछन्
हाँसोसंग खुशी, आँशुसंग पिडा
प्रेमिकालाई पस्किदिएर आफैंलाई रित्याइदिदारहेछन्
हृदयभरिको प्रेम व्यक्त गर्न
आफ्नै इज्ययत दाउमा लगाइदिदारहेछन्
प्रेमिकासम्म प्रेमिल सन्देश पुर्याउन
नथाकी दिन-रात एक गरिदिदारहेछन्
प्रेमको संसारमा सर्वाधिक त्याग
प्रेमरसमा डुवेर प्रेमीहरुले गरिदिदारहेछन्
प्रेमिकाको एक झलक पाउन
पलपल अथक मेहनेत गरिदिदारहेछन्
तिमीलाई कति चाहान्छु बुझाउन
आफ्ना दुःख, खुशी विर्सिदिदारहेछन्
प्रेमिकालाई सुखी, खुशी बनाउन
आफूलाई उनीभित्रै विलय गराइदिदारहेछन्
प्रेमिकालाइ नै संसार ठानी
हृदयभित्रै सुन्दर प्रेमनगर सजाइदिदारहेछन्
म के गरौं तिम्रोलागि
आँखाकै भाकामा पलपल सोधिरहदारहेछन्
टाढा भएपनि एकसाथ छु 
आँखाबाटै कसमको इशारा दिरहँदारहेछन्
प्रेमको संसारमा सर्वाधिक त्याग
प्रेमरसमा डुवेर प्रेमीहरुले गरिदिदारहेछन्
आफ्ना खुशी प्रेमिकालाई सुम्पिएर
प्रेमिकाको उज्वल भाग्य लेखिदिदारहेछन्
म उनको मेरी उनी
गीतको माला बनाइ गाइदिदारहेछन्
उनको मुहार ज्योति ठानी
मन-मन्दिरमा प्रेमको दियो जलाइरहँदारहेछन्
प्रेमिकाका बाटाका काँढाहरु पंसाएर
पिडामा आफैं काँढामाथि हिंडिदिदारहेछन्
प्रेमिकाको छवि नडगमगावस भनी
संसारसामु जितेको बाजी हारीदिदारहेछन्
आफ्ना खुशी प्रेमिकालाई सुम्पिएर
प्रेमिकाको उज्वल भाग्य लेखिदिदारहेछन्
प्रेमको संसारमा सर्वाधिक त्याग
प्रेमरसमा डुवेर प्रेमीहरुले गरिदिदारहेछन्

प्रेमको संसारमा सर्वाधिक त्याग
प्रेमरसमा डुवेर प्रेमीहरुले गरिदिदारहेछन्

Friday, 26 April 2024

प्रेमल मिठा पलहरु

                        लालीगुरांश  (सिर्जना भण्डारी) 


हृदयको प्रेम पस्किएं प्रियतम
मेरा ध्यान सपनाहरुमा
तिम्रा दुर्लव इश्वरिय आगमनहरुले
मेरा जीवनका मिठा-मिठा पलहरु
प्रेमल, रंगीन भइ फक्रिएर
मुस्कुराएका छन्, श्रृंगारीएका छन्
तिनै यादहरुमा कतै हराइरहेकोछु !

नखोज दुर्लव इमान्दारीता !

                  लालीगुरांश  (सिर्जना भण्डारी) 


संधै सबैलाई विश्वासको नजरले नहेर
धोका पाउन सक्छौ, मुटु दुखाइदिनेछन्
किनकी भौतिक दुनियां अलग छ
भौतिकीमा लिप्त मानिसहरु अलग छन्
भौतिकीले व्याप्त दुनियां त्यस्तो छैन
जुन तिमी वर्तमानमा देखिरहेका छौ
यस्तो परिस्थितिमा इमान्दारीता खोजिरहेछौ भने
वालकसरह तिमी अन्जान, निर्दोष छौ
तिमी विषको प्यालामा अमृत खोजिरहेछौ
दोषी त ढोंगी दुनियां हो
जसले तिमी र म विच
दोहोरो भूमिकाको अभिनय गरिरहेको छ ।

जसले तिमी र म विच
दोहोरो भूमिकाको अभिनय गरिरहेको छ ।।

Sunday, 14 April 2024

दृढ लक्ष्य

                 लालीगुरांश  (सिर्जना भण्डारी) 


छुपाएर तिमीलाई आफूमा आफैंभित्र तिमीलाई भेटाउनु छ

मेटाएर आफूलाई तिमीमा जीवन पूर्णतामा पुर्याउनु छ
कल्पिएका रंगीन सपनाले जीवन नयाँ बनाउनु छ
पहिरिएर पिरतीको माला हृदयमै स्वर्ग बसाउनु छ ।

हारेर तिमीलाई मानव सर्वकल्याणलाई जिताउनु छ
लुकाएर हृदयको आहट वाहिर मुस्कुराहट छर्नु छ
हारेर जितेको बाजी हारमै आफूलाई जिताउनु छ
बिर्सेर सबै पिडा मनलाई आनन्दमा भुलाउनु छ ।

सिलाएर फाटेको मन वाहिर सिंगो देखाउनु छ
मिलाएर छरिएका तृष्णा मन भित्रै समेट्नु छ
खाएर पिरतीको कसम अटुट प्रेममा बाँधिनु छ
जुटाएर मनको साहस नयाँ संसार बसाउनु छ ।

पिएर नजरको प्याला आत्मा तृप्त बनाउनु छ
मेटाएर मनको प्यास आपसि साथ निभाउनु छ
जोखेर कर्तव्यको भार आपसमा आधा-आधा बाँड्नु 
बाँडेर अधिकारको अंश म र तिमीमा र्नु छ ।

हिंडेर उकाली ओराली जीवनलाई अगाडि बढाउनु छ
सहेर सबै कठिनाइहरु जीवनको अनुभव संगाल्नु छ
सारेर पिरतीको विरुवा जीवनमा हरियाली सजाउनु छ
बारेर पिरतीको खेती जीवनलाई सुरक्षित बनाउनु छ ।

छुपाएर तिमीलाई आफूमा आफैंभित्र तिमीलाई भेटाउनु छ
मेटाएर आफूलाई तिमीमा जीवन पूर्णतामा पुर्याउनु छ
कल्पिएका रंगीन सपनाले जीवन नयाँ बनाउनु छ
पहिरिएर पिरतीको माला हृदयमै स्वर्ग बसाउनु छ ।
पहिरिएर पिरतीको माला हृदयमै स्वर्ग बसाउनु छ ।

ति अविश्मरणिय पलहरु....💗💖

                  लालीगुरांश  (सिर्जना भण्डारी) 


नयनमा गहिरो प्रेम भरेर
तिमीले हृदय ओछ्याइदिएको पल
आफैंलाई बिर्सिएर अंगालोमा बाँधिएछु
प्रेमको मिठासमा तिमीभित्रै बिलाएछु ।

मुस्कुराउदै वाणिमा मादकता छरेर
तिम्रो प्रेमले पुकारेको पल
तिम्रै आवाजमा आवाज मिलाएछु
हृदयको पूर्णतासंगै पिरतीमै हराएछु ।

मोहक हाउभाउमा प्रेमरस मिलाएर
लवजमा संगीत गुन्जेको पल
खुशीका अश्रु मोतिदाना वर्षाएछु
बोल्न बिर्सिएर प्रेमवर्षा गराएछु ।

मुस्कानभरी मिठो हाँसो सिउरेर
नजर जुधाएर हेरेको पल
रसाएको तनमन तिमीतिरै झुकाएछु
मनको उद्गार लज्जाभित्र लुकाएछु ।

नयनमा गहिरो प्रेम भरेर
तिमीले हृदय ओछ्याइदिएको पल
आफैंलाई बिर्सिएर अंगालोमा बाँधिएछु
प्रेमको मिठासमा तिमीभित्रै बिलाएछु ।
प्रेमको मिठासमा तिमीभित्रै बिलाएछु ।


Tuesday, 9 April 2024

प्रियतमको आगमनले बदलिएको ‘म’

                     लालीगुरांश (सिर्जना भण्डारी) 


प्रियतमको आगमनले म बदलिएं 
मेरो हेर्ने दृष्टि बदलियो 
हरदृश्यमा ब्रह्मण्डको विराटता देखिरहेछु 
मेरो श्रवणको आभास बदलियो 
हरध्वनिमा संगीतका तरंगहरु सुनिरहेछु 
मेरो स्पर्शको चाहना बदलियो 
भ्रमलाई चिरी वैराग्यतामा रमाइरहेछु 
मेरो स्वादको अपेक्षा बदलियो 
भक्तिको अमृतरसमा डुबुल्कि मारिरहेछु 
मेरो सुँघ्ने क्षमता बदलियो 
हरवस्तुमा सुगन्धित सुवास पाइरहेछु 
मेरो हृदयको अभिलासा बदलियो 
हरकोहीलाई प्रेम, करुणा बाँडिरहेछु 
मेरो आत्माको रुची बदलियो 
हरकोहीमा आफ्नै छवि देखिरहेछु 
मेरो चेतनाको अनुभूति बदलियो 
विराट अस्तित्वको सागरमा पौडिरहेछु । 

वतासका सुसेलीहरुमा संगीत हुन्छ 
यसअघि आभास भएकै थिएन 
तिमीले सुन्न सिकाइदियौ प्रियतम 
वर्षातको छमछममा नृत्य हुन्छ 
यसअघि महसुस गरेकै थिइन 
तिमीले नाच्न सिकाइदियौ प्रियतम 
तालको गहिराइमा शान्ति हुन्छ 
यसअघि अनुभव गरेकै थिइन 
तिमीले डुव्न सिकाइदियौ प्रियतम 
सागरको लहरमा एकाग्रता हुन्छ 
यसअघि बुझ्न सकेकै थिइन 
तिमीले धारणा सिकाइदियौ प्रियतम 
हृदयमा पिरतीको झंकार हुन्छ 
यसअघि अनुभूति भएकै थिएन 
तिमीले झुम्न सिकाइदियौ प्रियतम 
नजरमा प्रियतमको पर्खाइ हुन्छ 
यसअघि तृष्णा आएकै थिएन 
तिमीले पर्खन सिकाइदियौ प्रियतम 
कानलाई प्रियतमको प्यास हुन्छ 
यसअघि आभास जागेकै थिएन 
तिमीले अनुराग जगाइदियौ प्रियतम 
मनमा प्रियतमको तस्वीर हुन्छ 
यसअघि अनुभव गरेकै थिइन 
तिमीले स्मृति भरिदियौ प्रियतम 
 चेतनामा प्रियतमको वास हुन्छ 
यसअघि चाल पाएकै थिइन 
तिमीले उपस्थिति जनाइरह्यौ प्रियतम।। 

चेतनामा प्रियतमको वास हुन्छ
यसअघि चाल पाएकै थिइन 
तिमीले उपस्थिति जनाइरह्यौ प्रियतम।।

Sunday, 7 April 2024

जीवन हार कि जित !

                लालीगुरांश (सिर्जना भण्डारी) 

जीवन न हार न जित रहेछ 
गहिराइ बुझे जीवन प्रेमको मिठास रहेछ 
जीवन न मिठो न नमिठो रहेछ 
स्वाद चिने जीवन प्रेमको अमृतरस रहेछ 
जीवन न दृश्य न अदृश्य रहेछ 
दिव्यताको दृष्टिमा जीवन हृदयको फैलावट रहेछ 
जीवन न फूल न काँढा रहेछ 
चिन्न सके जीवन सुगन्धित सुवास रहेछ 
जीवन न गुण न दोष रहेछ 
भावशुद्ध भए जीवन इश्वरको स्वरुप रहेछ 
जीवन न सुख न दुःख रहेछ 
जीउन जाने जीवन सुख-दुःखको संगम रहेछ 
जीवन न सुन्दर न कुरुप रहेछ 
हेर्न जाने जीवन श्याम-स्वेतको मिश्रण रहेछ 
जीवन न घाम न छायाँ रहेछ 
बुझ्न सके जीवन घाम-छायाँको दोसाँध रहेछ 
जीवन न लामो न छोटो रहेछ 
प्रकृति बुझे जीवन जन्म-मृत्युको चक्र रहेछ 
जीवन न तातो न चिसो रहेछ 
अनुभूतिमा आए जीवन तातो-चिसोको मेल रहेछ 
जीवन न तिमी न म रहेछ 
डुव्न सके जीवन दुइ-शरीर एक-प्राण रहेछ 
जीवन न हाँसो न आँशु रहेछ 
पहिरीन जाने जीवन प्रियतमको प्रेमरत्न रहेछ 
जीवन न पाउनु न गुमाउनु रहेछ 
जीउन जाने जीवन शाश्वत सामिप्यता रहेछ 
जीवन न ठूलो न सानो रहेछ 
खोज्न जाने जीवनभित्रै सारा ब्रह्माण्ड रहेछ 
जीवन न अमृत न विष रहेछ 
पिउन जाने जीवन प्रेमको रामरस रहेछ 
जीवन न हार न जित रहेछ 
भक्ति जाने जीवन परमात्माको आगमन रहेछ 
त्यसैले जीवन न हार न जित रहेछ 
भक्ति जाने जीवन परमात्माको आगमन रहेछ 


 


चुपचाप लय मिलाइरहेछ प्रेम

                    लालीगुरांश   ( सिर्जना   भण्डारी ) न म केही बोल्छु न तिमी केही बोल्छौ तरपनि संवादमै छौं हामी चुपचाप निशव्दमा बहिरहेछ प्र...