लालीगुरांश (सिर्जना भण्डारी)
तिम्रो हृदयमा फुलेको कमलको फूल
तिम्रो अनाहदमा रसाएको प्रेमरसको मूल
तिम्रो ओठमा मुस्काएको खुशीको कान्ति
तिम्रो मुहारमा झल्किएको दिगो शान्ति
मेरो जीवन फुलाइदिने फूलबारी बनेकाछन्।
तिम्रो वाणिमा प्रष्फुटीत अमृत बोल
तिम्रो भावमा घोलिएको चाहतको मोल
तिम्रो नजरमा पोखिएको प्रीतको शीत
तिम्रो अन्तरमा गुन्जिरहने प्रेमरीतको गीत
मेरो जीवन सजाइदिने श्रृंगार बनेकाछन्।
तिम्रो मौनमा चलिरहने तरंगको हलचल
तिम्रो हाउभाउमा झल्किने मोहक तलवल
तिम्रो अव्यक्तमा व्यक्त तृष्णाको तलतल
तिम्रो अंगअंगमा देखिने चंचल सलवल
मेरो जीवन समेटीदिने साधन बनेकाछन्।
तिम्रो कल्पनामा तैरिरहने मिठा सपना
तिम्रो सच्चाइमा फैलिरहने स्वपनिल विपना
तिम्रो सिर्जनामा छरिइरहने प्रेमल कामना
तिम्रो तनमनमा भरिइरहने परोपकारको साधना
मेरो जीवन रंगाइदिने इन्द्रेणी बनेकाछन्।
म पनि तिमी जस्तै छु
तिमी पनि म जस्तै छौ
त्यसैले त हामी एक हौं
त्यसैले त हामी एक छौं।
No comments:
Post a Comment