Monday, 18 September 2023

संधै तिमी संगै रमाइरहन्छु

                   लालीगुरांश  (सिर्जना भण्डारी

        


तिमी दृश्यभएर ओझल भएपछि

म घण्टौंसम्म आनन्दमा मुस्कुराउँदै

तिम्रा हरेक मनमोहक स्मृतिहरुसंग

मौनमै मिठा-मिठा यादहरु साटीरहन्छु।


तिम्रा नयनका सांकेतिक झप्काइहरुका

संकेतका अर्थहरुमा गहिराई खोज्दै

तिम्रा हरेक इशाराका सूचनाहरुसंग

इशरामै भाव साटासाट गरिरहन्छु।


तिम्रो मुखारविन्दबाट प्रष्फुटीत वाणीहरुका

मृदुभाषि अमृतमय मिठासहरुमा हराउदै

तिम्रो शुरीलो ध्वनीको पदचापसंग

चुपचाप प्रेमपूर्ण वार्तालाप गरिरहन्छु ।


तिम्रो तनवदनका चन्चल अंगहरुका

गतिविधिहरु, नृत्यको रसरंगमा रमाउँदै

तिम्रो लोभलाग्दो मयूरी चालढालसंग

नाच्दै-गाउँदै तिमीसंगै समय विताइरहन्छु।


तिम्रो अधरका प्रकाशमय चमकहरुका

किरणहरुमा तिमीसंगै प्रकाशित हुदै

तिम्रो आभाको चम्किलो ज्योतिपुञ्जसंग

विस्तारै डुब्दै त्यसभित्रै हराइरहन्छु ।


तिम्रो आभाको चम्किलो ज्योतिपुञ्जसंग

विस्तारै डुब्दै त्यसभित्रै हराइरहन्छु ।



Tuesday, 12 September 2023

आफैंमा फर्कन चाहान्छु

          लालीगुरांश  (सिर्जना भण्डारी

मन र भावनामा

विश्मयताको त्वाँलो छाएकोछ

प्रज्ञा, भाव, विचार,

शव्द शुन्य भएकोछु

त्यसैले अव म

आफैंमा फर्कन चाहान्छु

आफैंलाई पढ्न चाहान्छु

आफैंलाई जान्न चाहान्छु

आफूमा स्थिरता चाहान्छु

गहिरामा डुब्न चाहान्छु

दिव्यताको यात्रा चाहान्छु

हृदाकाशमा प्रवेश चाहान्छु

परमात्माको सानिध्य चाहान्छु

कोलाहलबाट मुक्ति चाहान्छु।


तिमीपनि आफैंलाई पढ

सबैकोलागि सहज बन

आफू भित्रै फर्क

आफ्नै गहिरामा डुब

आफ्नो हृदयमा हेर

त्यहीं कतै भेटिनेछु

कहीं जानुछैन अव

तिमीलाई राम्ररी चिनेकोछु

तिम्रो हृदयलाई बुझेकोछु

हृदयमा तिमीलाई सजाएकोछु

तिमीबाट आल्हादित भएकोछु

तिमीमै डुव्न चाहान्छु

मैले मलाई भेटेकोछु

आफ्नो घर फर्केकोछु

छैन कुनै सहारा

छैन अर्को विकल्प

तिमीलाईनै अमूल्य जीवनको

आत्यन्तिक गन्तव्य ठानेकोछु

 

त्यसैले अव अनावश्यक 
लेखनबाट विश्राम चाहान्छु

Sunday, 10 September 2023

मिठो प्रेम, एक्लोपन र मुस्किल जीवन

                                  लालीगुरांश  (सिर्जना भण्डारी

        

प्रेमको मधूर रसमा तिमीले निकै गहिरो डुबाएछौ

यो सामान्य, सहज र प्राप्य प्रेम भएको भए

तिमीलाई पाउन धर्ती, आकाश र समय एक गर्थें

तर रमिता र मृगतृष्णा भयो हाम्रो जीवन

अनौठो प्रेमकथा बन्यो हाम्रो, कदम एकैठाउँमा जमीरह्यो 

न पूर्णरुपमा तिमीतिर जानसकें न आफूतिर फर्कनसकें

तिमी अरुकसैको हौ, तिम्रो आफ्नै संसार छ

अर्कोलाई दुःखी गराएर आफ्नो संसार रंगाउन चाहन्न

तिमी समाजमा खास विशेषणले प्रतिष्ठित छौ

आफ्नो खुशीको खातिर तिमीलाई मैल्याउन चाहन्न।


आफ्नो प्रकाशित मोहनी रुपको नयां-नयां अन्दाज देखाउँछौ

फूलले मौरीलाईझैं तिमी मलाई हरदम आफूमै भुलाउँछौ

टाढा भएरपनि तिमीले मेरो हृदय यसरी भिजायौ

नजिक भएकोभए असर झन कस्तो हुन्थ्यो होला

तिमीसंग विताएका सम्झनाका पलहरु तिक्ष्ण वाण सरहछन् 

स्मृतिमा आउँदा मेरा रोम-रोम चिरेर वारपार हुन्छन्

होस लैजान्छन् र मलाई पागल बनाएर जान्छन्

तिम्रो यादको मादक मिठासले मिठो सुवास छर्छन्

पलपल आफैंलाई बिर्सन्छु, मिठो कल्पनाको संसारमा हराउँछु

तिम्रो प्रेमको इन्द्रनीले मेरो तनमन, हृदय रंगाउँछु।


परिवारको भावना, प्रेम र विश्वासलाई एकातिर राखेर

सिर्फ तिम्रो दिव्य प्रेमलाई हृदयमा अंगालेर राखें

सारा विषय बिर्सेर आफूलाई तिम्रो जिम्मा लगाएं

तिम्रो प्रेम र भावरसमा आफूलाई चुलुम्म डुबाएं

तिमी आदत बनीसकेछौ, अव सक्दिन टाढा हुन

मेरो जीन्दगी, मेरो प्राण बनीसकेछौ प्रिय तिमी

मेरोलागि परम जीवनको अर्को नाम बनीसकेछौ तिमी

सच्चा हृदयले चाहेको थिएं तिमीलाई सदा-सदा

तिमीलाई पाएर जीवन यति मलिलो उब्जाउ भएकोछ

मेरो हराएका सपनाहरु भेटीएर ढकमक्म फुलेफलेका छन्।



Friday, 8 September 2023

दिव्य प्रेमको स्वरुप

                                           लालीगुरांश  (सिर्जना भण्डारी


दिव्य प्रेम प्रशाद रहेछ

हृदयमा अविरल अमृतधारा बहाइदिने।

दिव्य प्रेम प्रकृति रहेछ

जीवनमा रंगीन ऋतुहरु ल्याइदिने।

दिव्य प्रेम पुष्प रहेछ

अंगअंग मिठो सुवासले महकाइदिने।

दिव्य प्रेम जल रहेछ

तनमन, भावना परम-पवित्र गरिदिने।

दिव्य प्रेम वर्षा रहेछ

तनमन, भावना निथ्रुक्क भिजाइदिने।

दिव्य प्रेम मल रहेछ

जीवनमा परम-आनन्दको फल फलाइदिने।

दिव्य प्रेम संगीत रहेछ

हरपल कानमा स्व-राग गुञ्जाइदिने।

दिव्य प्रेम दर्पण रहेछ

आफूमा आफैंलाई सुन्दर देखाइदिने।

दिव्य प्रेम सागर रहेछ

असीम सुख, शान्ति अटाइदिने।

दिव्य प्रेम ओखती रहेछ

सारा रोग, पिडा हरिदिने।

दिव्य प्रेम सुविधा रहेछ

तनमनलाई आरामै आराम दिलाइदिने

दिव्य प्रेम अनुभूति रहेछ

प्रितीका मिठा स्मृतिहरुमा डुबाइदिने।

दिव्य प्रेम शान्ति रहेछ

जीवनका दुःख, तनाव हटाइदिने।

दिव्य प्रेम आनन्द रहेछ

हरपल दिव्यताको धाराले नुहाइदिने।

दिव्य प्रेम ज्ञान रहेछ

सुखी जीवन जीउन सिकाइदिने।

दिव्य प्रेम स्वाद रहेछ

हृदयमा प्रेमको अमृतरस वर्षाइदिने।

दिव्य प्रेम विश्वास रहेछ

प्रियतमको हृदयमा आफूलाई देखाइदिने।

दिव्य प्रेम आभास रहेछ

हृदयको गहिराइमा प्रियतममात्र छाइदिने


दिव्य प्रेम आभास रहेछ

हृदयको गहिराइमा प्रियतममात्र छाइदिने । -2

Thursday, 7 September 2023

बुझेकोछु तिम्रा ब्यग्र पर्खाइहरु

              लालीगुरांश  (सिर्जना भण्डारी

तिम्रा कोमल कमलपत्र ओठहरु

मौनतामा चुपचाप अवश्य छन्

तर चाहनाले भिजिरहेका छन्

अनन्त भावहरु पोखिरहेका छन्

बुझ्छु तिनका अन्तरंग भावहरु

तिनमा लुकेका ब्यग्र प्यासहरु

देख्छु पवित्र प्रेमका छालहरु

अनुभूतिमा आइरहेकाछन् तिनका रुचिहरु

अदृश्य बहीरहेका मृगतृष्णाका तरंगहरु

ओठमा ओठ स्पर्सका आकांक्षाहरु

प्रेम पोखिरहेका हृदयका स्पन्दनहरु

इसारा गरिरहेका आँखाका भाकाहरु

बिछोडको रोदनमा भिजेका परेलीहरु

मिलनको पर्खाइमा ओछिएका दृष्टिहरु

हृदय स्पर्सी संगीतका सुरहरु

प्रशंशामा उनीएका ओजपूर्ण वाणीहरु

प्रभावमा पस्किएका अमृतपूर्ण व्यवहारहरु

शुन्यतामा उडीरहेका अन्त्यहीन कल्पनाहरु

मनको प्रकाशमा झिलमिलाइरहेका सपनाहरु

हृदयबाट बहिरहेका प्रेमरसका तरंगहरु

मौनताको संकेतमा बोलिरहेका अधरहरु

दुईआत्माको दिव्य मिलनका आशहरु

दुईबाट एकहुने तिब्र चाहनाहरु

चन्चल भइ सलबलाइरहेका अंगहरु

स्वागत गरिरहेका मन्द मुस्कानहरु 

बुझेकोछु तिम्रा ब्यग्र पर्खाइहरु

मैले,

बुझेकोछु तिम्रा ब्यग्र पर्खाइहरु



Saturday, 2 September 2023

तिमी आउँदै आएनौ

    लालीगुरांश  (सिर्जना भण्डारी


रात्रीको समय, चकमन्न सन्नाटा

म शयन कक्षमा शयनकालागि

आवश्यक तारतम्य मिलाउँदै थिएं

झ्यालबाट चन्द्रमाको चांदनीले चिहाइरह्यो

हर प्रकाशमा तिमीलाई खोजीरहें

हृदय फुकाएर तिमीलाई कुरीरहें

प्रतिक्षा व्यग्र थियो, तर

तिमी आएनौ, आउँदै आएनौ।


शिरशिर बतासको शितलता बहिरह्यो

हर लहरमा तिमीलाई खोजीरहें

हृदय फुकाएर तिमीलाई कुरीरहें

प्रतिक्षा व्यग्र थियो, तर

तिमी आएनौ, आउँदै आएनौ।


लहरिदै पुष्प-लताहरुले सुवास छरिरहे

हर सुवासमा तिमीलाई खोजीरहें

हृदय फुकाएर तिमीलाई कुरीरहें

प्रतिक्षा व्यग्र थियो, तर

तिमी आएनौ, आउँदै आएनौ।


सुर-संगीत छर्दै वर्षात वर्षिरह्यो

हर धूनमा तिमीलाई खोजीरहें

हृदय फुकाएर तिमीलाई कुरीरहें

प्रतिक्षा व्यग्र थियो, तर

तिमी आएनौ, आउँदै आएनौ।


रात्रीको सन्नाटामा निद्राले डाकीरह्यो

हर उँघाइमा तिमीलाई खोजीरहें

हृदय फुकाएर तिमीलाई कुरीरहें

प्रतिक्षा व्यग्र थियो, तर

तिमी आएनौ, आउँदै आएनौ।


तिमी आएनौ, आउँदै आएनौ।

तिमी आउँदै आएनौ

चुपचाप लय मिलाइरहेछ प्रेम

                    लालीगुरांश   ( सिर्जना   भण्डारी ) न म केही बोल्छु न तिमी केही बोल्छौ तरपनि संवादमै छौं हामी चुपचाप निशव्दमा बहिरहेछ प्र...