लालीगुरांश (सिर्जना भण्डारी)
मलाई यो कुरा राम्ररी थाहा छ, 
कि, हामी शुरुमा भेटीएको दिनदेखि नै
तिमी आफ्नो न्यानो र कोमल अंगालो
मेरो स्वागतमा फिंजाएर बसेका छौ
तर, न म तिम्रो नजिक जान सकें
न तिमी नै मेरो नजिक आउन सक्यौ
आफूले चाहे जस्तो कहाँ हुने रहेछ र ?
समय परिस्थिति नै हाम्रो अनुकुल भएन
त्यसैले, कृपया माफ गरिदेउ है मलाई
तिम्रो हृदयको गहिरो भाव बुझीकन पनि
मैले तिम्रो स्वागतको सम्मान गर्न सकिन
तिमी, आफ्ना भाव बुझाउन पहेलीहरु पस्किरह्यौ
मैले परिस्थिति बुझाउन अवस्थाहरु बताइरहें
तिमीले दिव्य प्रेम भावका सुगन्धहरु छरिरह्यौ
म ति सुगन्धको मादकतामा लठ्ठ भइरहें
प्रेमको अमृत वर्षा गरि मेरो हृदय जितिरह्यौ
म तिम्रो प्रेममा खिचिदै आफूलाई हार्दै गएं
तिमी सुन्दर-सुगन्धित गुलाव झैं सामुन्ने आइरह्यौ
म तिम्रो सुरन्दरता र सुगन्धमा मातिदै गएं
तिम्रा मधूर वाणीहरुले मलाई सम्बोधन गरिरहे
म तिमीलाई सुनीरहन लालायित हुंदै गएं
तिम्रो अलौकीक उपस्थिति यि आँखाले पर्खिरहे
म तिमीलाई देखीरहन लालायित हुंदै गएं
जव तिमी समय सकियो अव छुटौं है भन्थ्यौ
म झसंग हुन्थें र अर्को भेटको प्रतिक्षामा रहन्थें
यि क्रियाहरु दोहोरीरहे, म आनन्दमा डुबीरहें
तिमीले निरन्तर आफूमा मलाई डुबाइरह्यौ 
तर,
म आफूले चाहेर तिमीमा डुबिरहेको थिइन
यो त आफैं भैदियो त्यो परम-शक्तिको कृपाले
सायद, तिमी पनि आफूले चाहेर म मा डुबेका थिएनौ
हामी दुबै त्यो परम-शक्तिको भक्तिमा डुबेका थियौं
उसैले इशारा गरेको दिशातिर हामी तानिइरह्यौं
यही निरन्तरता आजसम्म पनि चलिरहेकै छ
तिमी पनि त्यहि शक्तिको कृपा मानिरहेका छौ
म पनि त्यहि शक्तिको कृपा मानिरहेको छु
हामी आत्म-मिलनको बाटोमा अघि बढिरहेका छौं
त्यसैले, हाम्रो निजी इच्छा पुरा नभएर के भयो त
कमसेकम तिम्रो इच्छा त पुरा भयो नि, भगवान !
कम्तीमा आज हामी एकै ठाउँमा त आइपुग्यौ नि
यदि, हाम्रो निजी इच्छा पूरा भएको थियो भने
हामीमा अहंकार र आडम्बर आउन सक्थ्यो
त्यसले परिस्थितिमा थप समस्या ल्याउन सक्थ्यो
किनिकी, हामी त अज्ञानी छौं, आडम्बरी छौं
तिमी सदा अटल, सत्य, सहयोगी र प्रेमल छौ
त्यसैले, हे प्रभु! संधै तिम्रै इच्छा मात्र पूरा होस्
हामी संधै तिम्रो इच्छामा शिर झुकाइरहनेछौं ।।
हामी संधै तिम्रो इच्छामा शिर झुकाइरहनेछौं ।।
No comments:
Post a Comment