लालीगुरांश (सिर्जना भण्डारी)
तिमीसंग भेटेपछि प्रियतम, तिम्रो साथ यति प्रिय लाग्यो
कि, मेरा चाहानाहरुले पालुवा हाल्न थाले-
चाहेको थिएं तिमीलाई, मेरो हृदय खोलेर देखाउँ
तर अप्ठ्यारो परिस्थितिले रोकिदियो ।
चाहेको थिएं तिमीलाई, मेरो न्यानो अंगालोमा बाँधौं
तर लाज र शरमले छेकिदियो ।
चाहेको थिएं तिमीलाई, आफ्नो जीवनको सहयात्री बनाउँ
तर संस्कृति र परम्पराले बाँधिदियो ।
चाहेको थिएं तिमीलाई, आफ्नो नजरको सामुन्ने देखौं
तर निर्मोही समाजले रोकिदियो ।
चाहेको थिएं तिमीलाई, आफ्नो आँखाको नानीभित्र बसाऔं
तर वर्षिरहने आँशुले बगाइदियो ।
चाहेको थिएं तिमीलाई, सदा एकनास नियालीरहन पाउँ
तर बदनामीको भयले रोकिदियो ।
चाहेको थिएं तिमीलाई, सदा एकनास सुनीरहन पाउँ
तर दुनियाँको हल्लाले छेकिदियो ।
चाहेको थिएं तिमीलाई, यि हातहरुले स्पर्स गरिरहौं
तर अपरीचित भावले रोकिदियो ।
चाहेको थिएं तिमीलाई, मेरो हृदयको तरंग सुनाउँ
तर टाढिएको सम्वन्धले छेकिदियो ।
चाहेको थिएं तिमीसंग, केही यादगार पल गुजारौं
तर समयको प्रतिकुलताले रोकिदियो ।
चाहेको थिएं तिमीसंग, मिठा-मिठा कुरा गरेर बसौं
तर बातलाग्ने त्रासले रोकिदियो ।
चाहेको थिएं तिमीसंग, आपसमा मुटु साटेर जिउँ
तर कर्तव्य र जिम्मेदारीले रोकिदियो ।
चाहेको थिएं तिमीसंग, सदाका लागि एकसाथ रहुँ
तर पुराना कर्मबन्धनले छेकिदियो ।
चाहेको थिएं तिमीसंग, सदाका लागि समिप रहुँ
तर तिम्रो लोकप्रियताले पछाडि धकेलिदियो ।
चाहेको थिएं तिमीसंग, सदाका लागि समिप रहुँ
तर तिम्रो लोकप्रियताले पछाडि धकेलिदियो ।।
No comments:
Post a Comment