Wednesday, 19 March 2025

बुझिरहेकोछु तिम्रा सबै संकेतहरु

        लालीगुरांश  (सिर्जना भण्डारी)


देखिरहेकोछु तिम्रा हाउभाउबाट
तिम्रा चाहना, आकांक्षाहरु !
बुझिरहेकोछु तिम्रा नयनबाट
तिम्रा लक्षण, संकेतहरु !
हेरीरहेकोछु अत्यन्तै निकटबाट
तिम्रा बेचैनी, छटपटीहरु !
महसुस गरिरहेकोछु मनबाट
तिम्रा विचार, भावनाहरु !
अनुभूति गरिरहेकोछु हृदयबाट
तिम्रा प्रेम पस्काइहरु !
तृप्त भइरहेकोछु आत्माबाट
पिउदै अमृतसरी भक्तिरसहरु !
समेटीहेकोछु मैले तन-मन-भावबाट
तिम्रा सबै मूल्यहरु !

आँशु, हाँसो साट्न
नचाहेको होइन मैलेपनि
समय अनुकुल भएन
भयभित हुनपरेकोछ परिस्थितिबाट !

तिमीलाई सहज होस्
यत्तिमात्र चाहना मेरो 
धैर्यता साध्ने सन्देश
आएकोछ आफ्नै हृदयबाट !

समयनै परमात्मा हो
सृष्टि उसैको हो
उसलेनै मिलाउनेछ सबै
आस्था जागेकोछ मनबाट !

हाम्रो कर्तव्य सर्वकल्याण
उसको दायित्व आर्शिवाद
उसप्रतिको अटुट विश्वास
भरिएकोछ हृदयमा प्राणबाट !

हामी उर्जा हौं
उर्जामै स्थित छौं
प्रारब्धमा लेखिएको जेछ
त्यही मार्गमा हिड्नुछ !

सबै राम्रोकालागि हुन्छ
गर्ने उसलेनै हो
भरोसा जागेकोछ प्रभुप्रति
तन-मन, हृदय, प्राणबाट !

भरोसा जागेकोछ प्रभुप्रति
तन-मन, हृदय, प्राणबाट !!

 

No comments:

Post a Comment

चुपचाप लय मिलाइरहेछ प्रेम

                    लालीगुरांश   ( सिर्जना   भण्डारी ) न म केही बोल्छु न तिमी केही बोल्छौ तरपनि संवादमै छौं हामी चुपचाप निशव्दमा बहिरहेछ प्र...