लालीगुरांश (सिर्जना भण्डारी)
न म केही बोल्छु
न तिमी केही बोल्छौ
तरपनि संवादमै छौं हामी
चुपचाप निशव्दमा बहिरहेछ प्रेम !
न म केही सोध्छु
न तिमी केही सोध्छौ
तरपनि सवालजवाफमै छौं हामी
चुपचाप जवाफ पस्किरहेछ प्रेम !
न म तिमीलाई चिन्छु
न तिमी मलाई चिन्छौ
तरपनि जानपहिचानमै छौं हामी
चुपचाप अपनत्वमा डुबिरहेछ प्रेम !
न म तिमीलाई भेट्छु
न तिमी मलाई भेट्छौ
तरपनि निकटमै छौं हामी
चुपचाप सामिप्यमा रमाइरहेछ प्रेम !
न म केही भन्छु
न तिमी केही भन्छौ
तरपनि कहासुनीमै छौं हामी
चुपचाप वातचित गरिहेछ प्रेम !
न म तिमीलाई कुर्छु
न तिमी मलाई कुर्छौ
तरपनि पर्खाइमै छौं हामी
चुपचाप आँखा ओछ्याइरहेछ प्रेम !
न म तिमीलाई देख्छु
न तिमी मलाई देख्छौ
तरपनि दृश्यमै छौं हामी
चुपचाप नयनभरि छाइरहेछ प्रेम !
न म तिमीलाई बोलाउछु
न तिमी मलाई बोलाउछौ
तरपनि बोलचालमै छौं हामी
चुपचाप भलाकुसारी गरिरहेछ प्रेम !
न म उपहार दिन्छु
न तिमी उपहार दिन्छौ
तरपनि भरिपूर्ण छौं हामी
चुपचाप भण्डार भरिरहेछ प्रेम !
न म प्रत्यक्ष मुस्कुराउछु
न तिमी प्रत्यक्ष मुस्कुराउछौ
तरपनि मस्किरहेका छौं हामी
चुपचाप मुस्कुराहट छरिरहेछ प्रेम !
न म तृप्त छु
न तिमी तृप्त छौ
तरपनि आनन्दित छौं हामी
चुपचाप अमृत वर्षाइरहेछ प्रेम !
न म तिमीसम्म आउछु
न तिमी मसम्म आउछौ
तरपनि एकसाथ छौं हामी
चुपचाप महामिलन सजाइरहेछ प्रेम !
चुपचाप महामिलन सजाइरहेछ प्रेम !
No comments:
Post a Comment