लालीगुरांश (सिर्जना भण्डारी)
आफ्ना सिर्जनाका कर्महरु गर्दा, लाग्छ
हाँस्दै, गाउँदै, नाच्दै, अघि बढिरहेकोछु
आफ्नो एकमात्र गन्तब्य उनलाई भेट्न
उनीसंग हृदयका प्रेम भावहरु साट्न
हृदमसंग हृदय गाँसेर समिप हुन
प्रेमको लालीमा पोतेर सुन्दरता भर्न
उनको सुगन्ध छरेर आफू मगमगाउन
उनको वाणी श्रवण गरेर प्रेरणा लिन
उनको ज्ञानगंगा भरेर ज्ञानी वन्न
उनको स्पर्शको आभासमा शितलता पाउन
उनको चाहतमा डुवेर उनमैं बिलाउन
उनको साथ पाएर तृप्त हुन
प्रेमको गहिराइ चुमेर मुक्त हुन
आपसी साथ निभाएर समर्पित हुन
पर्खाइका पिडाहरु मेटाएर हलुका हुन
नजरका प्यासहरु बुझाएर आनन्दित हुन
मनका विचारहरु पोखेर शुद्ध हुन
परमात्माको अनुभूतिमा पूर्णतः स्थित हुन
जसरी नदी सुसाउँदै, गडगडाउँदै झरिरहेकिछिन्
आफ्नो प्रियतम सागरसंगको मिलनमा आतुर
आफ्नो प्रियतमको छातिमा समाहित भई
आफ्ना खुशीहरु साट्न, समर्पित हुन
आफ्ना प्रेमभावहरु पोखेर तृप्त हुन
भेटिएपछि अव फेरी कहिल्यै नछुट्टीने
विश्वास दिलाउन वाचा, कसम खान** ।
भेटिएपछि अव फेरी कहिल्यै नछुट्टीने
विश्वास दिलाउन वाचा, कसम खान । ।