लालीगुरांश (सिर्जना भण्डारी)
प्रेमको कुनै रुप हुदैन
यो त हृदयको मिठो अनुभूति हो
जव कसैको याद स्वयंको भन्दा
अधिक मधूर र मिठो लाग्छ
त्यहि मिठास नै शास्वत प्रेम हो
उसैको यादमा डुब्नु दिगो प्रेम हो
उसलाई पलभर नभुल्नु दिव्य प्रेम हो !
प्रेमको कुनै रंग हुदैन
यो त अदृश्य जगमग ज्योति हो
प्रेमले मनका कुनाकुनामा प्रकाश छर्छ
इहलोक, परलोक ज्योर्तिमय बनाउछ
आफैंभित्रको सुख र शान्ति प्रकट गरि
पलपल परम–आनन्दमा जिउन सिकाउछ
प्रेमले नै जीवन स्वर्गतुल्य बनाउछ !
प्रेमको कुनै जात हुदैन
यो त स्वयंको हृदयबाट प्रष्फुटित श्रद्धा हो
यसले कसैलाई ठूलो सानो भन्दैन
सबैमा उही एउटै परमात्मा देखाउछ
सबैलाई आफूभित्र समेट्न सिकाउछ
तँ र म को भेद छुट्याउदैन
हामी भन्ने समुहिक भाव जगाउछ !
प्रेमको कुनै स्वाद हुदैन
यो त निरन्तर वर्षिरहने अमृत वर्षा हो
जसले महा ओखतीको काम गर्छ
जीवनका अवषादहरुबाट मुक्ति दिलाउँछ
स्थुल–मन–भाव र चेतन शरिरलाई
सवल, स्वस्थ्य र तनदुरुस्त बनाउछ
शरिरबाटै परमात्माको मार्ग सदृश्य गराउछ !
प्रेमको कुनै आकार हुदैन
यो त निराकार शास्वत सत्य हो
जो सीमाहिन विराट स्वरुपमा छ
पुरै ब्रम्हाण्ड प्रेममै टिकेको छ
प्रेमकै कारण तिमी छौ, म छु
निराकार प्रेमको कुण्डमा तैरीरहेछौं
जो अनुभूतिमा मात्र छ, दृश्यमा शुन्य छ !
No comments:
Post a Comment