भौतिक जटिलता र अनेक वेदनाहरुका वावजुद 
क्षितिजमा निर्धक्क आफ्नो पंख फिजाइरहेको हुन्छु
किनकी क्षितिजमा सबैको रखवाला बसीरहेको छ 
ऊसले सबैलाई एकटकले निरन्तर हेरीरहेको छ 
सबैको कर्मको लेखाजोखा नबिराइकन राखीरहेको छ 
ऊही ब्रह्माण्डको सर्जक, पालक, संहारक हो 
म ऊसैको सृष्टिको अतिसुक्ष्म कण हुं 
ऊसैले चलाएको छ ब्रह्माण्डका सारा चक्रहरु 
चिन्ता लिएर ऊसको रखवालीको अपमान गर्दिन ।
 
मेरो आनन्दित जीवनको कारण ऊही हो 
मेरो खुशीमा ऊ स्वयं मुस्कुराईरहेको छ 
मेरो वेदनामा ऊ संगसंगै रोइरहेको छ 
मेरो निसहायपनमा ऊसैले सहरा दिरहेको छ 
मेरो निराशाहरुमा ऊही आशा बनेको छ 
शिरमा हात राखेर प्रोत्साहन दिरहेको छ 
मेरा हरेक आर्जनहरुमा उसैको योगदान छ
मेरा हरेक कर्महरुमा ऊसैको परिश्रम छ
मेरो चेतनामा ऊसैले
इटा थपिरहेको छ
मेरो सम्वन्धहरुमा
ऊही आफन्ती भएको छ ।
मेरो प्यासमा ऊसैले
पानी पिलाएको छ
मेरो भोकमा ऊसैले
खानेकुरा फलाएको छ
मेरो थकाइमा ऊसैले
निद्रा पठाएको छ
प्रचण्ड गर्मीमा
ऊसैले शितलता भिजाएको छ
प्रचण्ड ठण्डीमा
ऊसैले न्यानोपन दिलाएको छ
त्यसैले त
भौतिक जटिलता र अनेक वेदनाहरुका वावजुद 
क्षितिजमा निर्धक्क आफ्नो पंख फिजाइरहेको हुन्छु
किनकी क्षितिजमा सबैको रखवाला बसीरहेको छ 
ऊसले सबैलाई एकटकले निरन्तर हेरीरहेको छ 
सबैको कर्मको लेखाजोखा नबिराइकन राखीरहेको छ । 
No comments:
Post a Comment