Friday, 5 September 2025

चुपचाप लय मिलाइरहेछ प्रेम

                लालीगुरांश  (सिर्जना भण्डारी)

न म केही बोल्छु

न तिमी केही बोल्छौ

तरपनि संवादमै छौं हामी

चुपचाप निशव्दमा बहिरहेछ प्रेम !

 

न म केही सोध्छु

न तिमी केही सोध्छौ

तरपनि सवालजवाफमै छौं हामी

चुपचाप जवाफ पस्किरहेछ प्रेम !

 

न म तिमीलाई चिन्छु

न तिमी मलाई चिन्छौ 

तरपनि जानपहिचानमै छौं हामी

चुपचाप अपनत्वमा डुबिरहेछ प्रेम !

 

न म तिमीलाई भेट्छु

न तिमी मलाई भेट्छौ

तरपनि निकटमै छौं हामी

चुपचाप सामिप्यमा रमाइरहेछ प्रेम !

 

न म केही भन्छु

न तिमी केही भन्छौ

तरपनि कहासुनीमै छौं हामी

चुपचाप वातचित गरिहेछ प्रेम !

 

न म तिमीलाई कुर्छु

न तिमी मलाई कुर्छौ

तरपनि पर्खाइमै छौं हामी

चुपचाप आँखा ओछ्याइरहेछ प्रेम !

 

न म तिमीलाई देख्छु

न तिमी मलाई देख्छौ

तरपनि दृश्यमै छौं हामी

चुपचाप नयनभरि छाइरहेछ प्रेम !

 

न म तिमीलाई बोलाउछु

न तिमी मलाई बोलाउछौ

तरपनि बोलचालमै छौं हामी

चुपचाप भलाकुसारी गरिरहेछ प्रेम !

 

न म उपहार दिन्छु 

न तिमी उपहार दिन्छौ

तरपनि भरिपूर्ण छौं हामी

चुपचाप भण्डार भरिरहेछ प्रेम !

 

न म प्रत्यक्ष मुस्कुराउछु

न तिमी प्रत्यक्ष मुस्कुराउछौ

तरपनि मस्किरहेका छौं हामी

चुपचाप मुस्कुराहट छरिरहेछ प्रेम !


न म तृप्त छु

न तिमी तृप्त छौ

तरपनि आनन्दित छौं हामी

चुपचाप अमृत वर्षाइरहेछ प्रेम !

 

न म तिमीसम्म आउछु

न तिमी मसम्म आउछौ

तरपनि एकसाथ छौं हामी 

चुपचाप महामिलन सजाइरहेछ प्रेम !

 

तरपनि एकसाथ छौं हामी 

चुपचाप महामिलन सजाइरहेछ प्रेम !!












Tuesday, 5 August 2025

अदृश्य जीवनका दृश्य मिठासहरु

                लालीगुरांश  (सिर्जना भण्डारी)


तिमी प्रेमको अमृत वर्षाइराख

 तिम्रो ओतमूनिमा रुझिरहुँ !

 

तिमी प्रेमको प्यासले तिर्खाइराख

 प्रितको झरना बनिरहुँ !

 

तिमी जन्मजन्म मलाई रोजिराख

 पलपल तिमीलाई खोजिरहुँ !

 

तिमी निरन्तर तनमनमा सलबलाइराख

 हरक्षण तिमीलाई पाइरहुँ !

 

तिमी चाहतको प्रकाश छरिराख

 तिम्रो हृदयमा रमिरहुँ !

 

तिमी न्यानो अंगालो कसिराख*

 तिम्रो धड्कन सुनिरहुँ !

 

तिमी मिलनको अपेक्षा गरिराख

 जन्मजन्म तिमीलाई पर्खिरहुँ !

 

तिमी नजरले इशारा गरिराख

 तिम्रो दृश्यमा नाचिरहुँ !

 

तिमी मधूर मुस्कान छरिराख

 तिम्रो खुशीमा छाइरहुँ !

 

तिमी प्रकृतिमा मलाई खोजिराख

 सेतो गुलावझैं फूलिरहुँ !

 

तिमी फूल बनि फक्रिराख

 सुगन्ध बनि फैलिरहुँ !

 

तिमी भमरा बनि भुनभुनाइराख

 पुष्पमञ्जरी बनि डाकिरहुँ !

 

तिमी वायू बनि बतासिराख

 चंगा बनि उडिरहुँ !

 

तिमी सागर बनि सुसाइराख

 छाल बनि खेलिरहुँ !

 

तिमी प्यारो बुड्डा बनिराख

हामी आत्मिय जोडी रहिरहुँ !

 

तिमी प्यारो बुड्डा बनिराख

हामी आत्मिय जोडी रहिरहुँ !!

Sunday, 3 August 2025

समयको उपलव्धि

                लालीगुरांश  (सिर्जना भण्डारी)

कहिलेकाहीं हामीलाई लाग्न सक्छ

हामीले लगानी गरेको समय

अहिलेसम्म गरिएका सबै प्रयाहरु

सबै बेअर्थ, उपलव्धिबिहिन भए

तर होइन, उपलव्धि भएकोछ

अमूल्य, शाश्वत उपलव्धि भएकोछ

तनको कणकणमा लयात्मक लचकता

मनको रोमरोममा रचनात्मक सिर्जना

भावको स्पन्दनमा हलचल, सम्वेग

चेतनाको उच्चता, दिगो जागरुकता

आत्मा मिठो प्रगाढ सामिप्यता

प्रेमको अलौकिक अमृत अनञभव

एकअर्कोमा समर्पित भाव, डुवाई

सम्वन्धको अटुट अपनत्व, माधूर्यता

हृदयको महासागर, अनन्त गहिराई

चाहतको अन्तिम विन्दुको साक्षातकार

आपसको मरिमेटाइको अनन्त पागलपन

समर्पणको निश्वार्च, निशर्त अर्पण

भक्तिको भाापूर्ण झंकारयुक्त भजन

श्रद्धाको सम्मान, हरपल शिरोपर

आत्मसम्मानको उक्लदो विराट शिखर

मानवीयताको निस्काम कर्ममा लगाव

परमानन्दको आल्हादमा रमेको जीवन

जीवनको पूर्णता, सम्पूर्णतको अनुभूति

पिरतीको आश, परमात्माप्रतिको आस्था

यी सबैले जीवन फूलेफलेकोछ

जीवनमा दिव्य नवीनता छाएकोछ

जीवन जिउने उत्साह बढेकोछ

पलपल एकत्वतिर हरकदम सरेकोछ ।

 

यी सबैले जीवन फूलेफलेकोछ

जीवनमा दिव्य नवीनता छाएकोछ

जीवन जिउने उत्साह बढेकोछ

पलपल एकत्वतिर हरकदम सरेकोछ ।।

Sunday, 20 July 2025

मेरो जीवन मेरो रहेन

                लालीगुरांश  (सिर्जना भण्डारी)

मेरो जीवन मेरो रहेन

म हराएं, मेटिएं तिमीमै

पाएर तिमीलाई पूर्ण भएकोछ

मेरो यो दिव्य संसार ।

               मेरो जीवन मेरो रहेन...

 

याद तिम्रो पूजा बन्यो

तिम्रै महिमा म गाउँ

हृदयमा बसेकोछ छवि तिम्रै

अरु कसलाई म राखुँ ।

                मेरो जीवन मेरो रहेन...

 

सिर्फ तिम्रै हुँ म

तिम्रै रहन्छु अनन्त-अनन्त काल

तिमीनै शुरु तिमीनै अन्त्य

अरु के गरौं विचार ।

              मेरो जीवन मेरो रहेन...

 

चुपचाप बसौं या बोलिराखौं

शुन्यताको सागरमा शुन्यसरी बिलाएं

तिमीमै शान्ति, आनन्द पाएं

प्रेमको पूर्णता तिमीमै पाएं ।

            मेरो जीवन मेरो रहेन...

 

मेरो सामनेमा छौ तिमी

दिव्य साथ छ तिम्रै

तिमीनै मेरो सुखको सागर

तिमीनै मेरो जीवनको सार ।

 

                  मेरो जीवन मेरो रहेन...

                  म हराएं, मेटिएं तिमीमै

                  पाएर तिमीलाई पूर्ण भएकोछ

                  मेरो यो दिव्य संसार 


Wednesday, 16 July 2025

मौन नै प्रेम...

                लालीगुरांश  (सिर्जना भण्डारी)

हरेक स्रष्टाका आ-आफ्ना गुणहरु हुन्छन्

वर्षातका रिमझिमले चिसो शितलता दिन्छन्

फक्रिएका फूलहरुले मिठो सुवास दिन्छन्

विगतका पलहरुले अविस्मरणीय स्मृति दिन्छन्

कसैले जिन्दगीमा प्रेमको तृप्ति भरिदिन्छन्

कसैले आत्मानै प्रेमलाई बकस गरिदिन्छन्

अनि चुपचाप आत्मानन्दको मौनमा हराइदिन्छन् !

किनकी 

प्रेम आत्माको अनुपम सौन्दर्य हो

प्रेमको सौन्दर्य हृदयको मौनमा हुन्छ 

प्रेमले ओतप्रोत हृदयले आत्मियता छर्छ

आत्मियता केवल हृदयको मौनमा हुन्छ

हृदयको मौनलेनै जीवनमा परमआनन्द भर्छ

हृदयको परमआनन्दमै प्रेमको फूल फूल्छ

आत्माको परमशन्तिमै परमात्माको उदय हुन्छ

मेरा हरखुशीहरु तिमीबाटै शुरू हुन्छन्

तिम्रै हृदयको मौनमा बिलय हुन्छन् 

खुशीहरू योभन्दा कममा राजी छैनन्

योभन्दा बढिको आकांक्षी पनि छैनन् !!

 

 


Tuesday, 17 June 2025

धेरै खुशी बाड्नुछ तिमीसंग

                 लालीगुरांश  (सिर्जना भण्डारी)

 

कति कुरा भन्नुछ तिमीलाई

कति कुरा सोध्नुछ तिमीलाई

धेरै खुशी बाड्नुछ तिमीसंग

थोरै पिडा साट्नुछ तिमीसंग ।

 

हृदयको क्यानभासमा सजाएकोछु तिमीलाई

मनमन्दिरको केन्द्रमा राखेकोछु तिमीलाई

आँखाको नानीमा देखेकोछु तिमीलाई

आत्मप्रेमको नगरमा भेटेकोछु तिमीलाई ।

 

हातमाहात राखी हिड्नुछ तिमीसंग

एकसाथ अघि बढ्नुछ तिमीसंग

प्रेमको फूलबारी लगाउनुछ तिमीसंग

प्रीतीको फूल सजाउनुछ तिमीसंग ।

 

खुशीमा संधै हाँसीरहन्छु तिमीसंगै

रोदनमा संधै रोइरहन्छु तिमीसंगै

शान्तिमा अमृतझैं वर्षिरहन्छु तिमीसंगै

आनन्दमा समुद्रझै बहिरहन्छु तिमीसंगै ।

 

बितेका स्मृतिहरुमा हराइरहन्छु तिमीभित्रै

प्रेमल पलहरुमा डुबिरहन्छु तिमीभित्रै

सपनामा बोलाउछौ बोलिरहन्छु तिमीभित्रै

बिपनामा चिहाउछौ मुस्कुराउछु तिमीभित्रै ।

 

भाकामा आइदिन्छौ गुनगुनाइरहन्छु तिमीलाई

शुरमाशुर मिलाउछौ आलापिरहन्छु तिमीलाई

संगीतमा गुञ्जिन्छौ गाइरहन्छु तिमीलाई

नृत्यमा छमछमाउछौ हेरीरहन्छु तिमीलाई ।

 

संगीतमा गुञ्जिन्छौ गाइरहन्छु तिमीलाई

नृत्यमा छमछमाउछौ हेरीरहन्छु तिमीलाई ।।

Friday, 13 June 2025

प्रेमको अनन्त स्वरुप !

                लालीगुरांश  (सिर्जना भण्डारी)

प्रेमको परिभाषा अनन्त रहेछ
प्रेम एक विहंगम दृष्टि रहेछ
समुच्चा सृष्टिको मूलाधार रहेछ
सबैथोकको कच्चा पदार्थ रहेछ
प्रेम विराट आकाश रहेछ
स्वयं परमात्माको स्वरुप रहेछ
प्राणी प्रेमको निमित्तमात्र रहेछ

प्रेमलाई परमात्माको स्वरुप माने
स्वयंभित्रको अन्तरआत्माको पुकार रहेछ
चेतनाको महासागरमा एकाकार गराइदिने

प्रेमलाई आनन्दको स्वरुप माने
सुख, शान्तिको महाखनी रहेछ
शाश्वत सतचितानन्दमा स्थित गराइदिने

प्रेमलाई प्रीतीको स्वरुप माने
प्रेमल हृदयको तरंग रहेछ
दुई आत्माको मेल गराइदिने

प्रेमलाई विवाहको स्वरुप माने
सात फन्कोको बन्धन रहेछ
दुई मनको मिलन गराइदिने

प्रेमलाई समृद्धिको स्वरुप माने
धनधान्य लक्ष्मीको स्वरुप रहेछ
जीवनमा सुख, सम्पन्नता भरिदिने

प्रेमलाई सम्वन्धको स्वरुप माने

मानवीयताको भाव तरंग रहेछ

सर्वकल्याणको भावमा समर्पित गराइदिने

प्रेमलाई उपचारको स्वरुप माने
सबै अस्वस्थताको ओखति रहेछ
भित्रबाट आरोग्य, सक्रिय बनाइदिने

प्रेमलाई दयाको स्वरुप माने
सहयोग, परोपकारको सदभाव रहेछ
अरुको पिडाको मर्मज्ञ बनाइदिने

प्रेमलाई करुणाको स्वरुप माने
नेतृत्व, योगदानको सम्भावना रहेछ
प्रतिभा, क्षमतामा जीउन सिकाइदिने

प्रेमलाई मनोरञ्जनको स्वरुप माने
मुस्कान, हाँसोको मूलश्रोत रहेछ
अमूल्य जीवनको रमझममा भुलाइदिने

प्रेमलाई भोगको स्वरुप माने
कामना, वासनाको श्रोत रहेछ
शरीरको सुखमा लिप्त बनाइदिने

प्रेमलाई दुःखको स्वरुप माने
असन्तोष जन्माउने कारखाना रहेछ
लोभ, मोहमा चुर्लुम्म डुबाइदिने

प्रेमलाई पिडाको स्वरुप माने
अस्वीकृति पोख्ने माध्यम रहेछ
विषाद, अवसादको अवस्थामा पुर्याइदिने

प्रेमलाई तमसको स्वरुप माने
निष्पट्ट अन्धकारको भूमरी रहेछ
नारकीय जीवनको खाडलमा खसालिदिने

अव, यहाँनेर सवाल जन्मिन्छ
प्रेमलाई के मान्ने, नमान्ने
आफ्नो मनस्थिति, भावास्थिति अनुसार
मानेकै स्वरुपमा प्रकट हुन्छ
तसर्थ
प्रेमको परिभाषा अनन्त रहेछ
प्रेम एक विहंगम दृष्टि रहेछ
समुच्चा सृष्टिको मूलाधार रहेछ
सबैथोकको कच्चा पदार्थ रहेछ
प्रेम विराट आकाश रहेछ
स्वयं परमात्माको स्वरुप रहेछ
प्राणी प्रेमको निमित्तमात्र रहेछ


प्रेम विराट आकाश रहेछ

स्वयं परमात्माको स्वरुप रहेछ
प्राणी प्रेमको निमित्तमात्र रहेछ ।।

चुपचाप लय मिलाइरहेछ प्रेम

                    लालीगुरांश   ( सिर्जना   भण्डारी ) न म केही बोल्छु न तिमी केही बोल्छौ तरपनि संवादमै छौं हामी चुपचाप निशव्दमा बहिरहेछ प्र...