लालीगुरांश  (सिर्जना भण्डारी)
प्रेमको परिभाषा अनन्त रहेछ
प्रेम एक विहंगम दृष्टि रहेछ
समुच्चा सृष्टिको मूलाधार रहेछ
सबैथोकको कच्चा पदार्थ रहेछ
प्रेम विराट आकाश रहेछ
स्वयं परमात्माको स्वरुप रहेछ
प्राणी प्रेमको निमित्तमात्र रहेछ ।
प्रेमलाई परमात्माको स्वरुप माने
स्वयंभित्रको अन्तरआत्माको पुकार रहेछ
चेतनाको महासागरमा एकाकार गराइदिने ।
प्रेमलाई आनन्दको स्वरुप माने
सुख, शान्तिको महाखनी रहेछ
शाश्वत सतचितानन्दमा स्थित गराइदिने ।
प्रेमलाई प्रीतीको स्वरुप माने
प्रेमल हृदयको तरंग रहेछ
दुई आत्माको मेल गराइदिने ।
प्रेमलाई विवाहको स्वरुप माने
सात फन्कोको बन्धन रहेछ
दुई मनको मिलन गराइदिने ।
प्रेमलाई समृद्धिको स्वरुप माने
धनधान्य लक्ष्मीको स्वरुप रहेछ
जीवनमा सुख, सम्पन्नता भरिदिने ।
प्रेमलाई सम्वन्धको स्वरुप माने
मानवीयताको भाव तरंग रहेछ
सर्वकल्याणको भावमा समर्पित गराइदिने ।
प्रेमलाई उपचारको स्वरुप माने
सबै अस्वस्थताको ओखति रहेछ
भित्रबाट आरोग्य, सक्रिय बनाइदिने ।
प्रेमलाई दयाको स्वरुप माने
सहयोग, परोपकारको सदभाव रहेछ
अरुको पिडाको मर्मज्ञ बनाइदिने ।
प्रेमलाई करुणाको स्वरुप माने
नेतृत्व, योगदानको सम्भावना रहेछ
प्रतिभा, क्षमतामा जीउन सिकाइदिने ।
प्रेमलाई मनोरञ्जनको स्वरुप माने
मुस्कान, हाँसोको मूलश्रोत रहेछ
अमूल्य जीवनको रमझममा भुलाइदिने ।
प्रेमलाई भोगको स्वरुप माने
कामना, वासनाको श्रोत रहेछ
शरीरको सुखमा लिप्त बनाइदिने ।
प्रेमलाई दुःखको स्वरुप माने
असन्तोष जन्माउने कारखाना रहेछ
लोभ, मोहमा चुर्लुम्म डुबाइदिने ।
प्रेमलाई पिडाको स्वरुप माने
अस्वीकृति पोख्ने माध्यम रहेछ
विषाद, अवसादको अवस्थामा पुर्याइदिने ।
प्रेमलाई तमसको स्वरुप माने
निष्पट्ट अन्धकारको भूमरी रहेछ
नारकीय जीवनको खाडलमा खसालिदिने ।
अव, यहाँनेर सवाल जन्मिन्छ
प्रेमलाई के मान्ने, नमान्ने
आफ्नो मनस्थिति, भावास्थिति अनुसार
मानेकै स्वरुपमा प्रकट हुन्छ ।
तसर्थ
प्रेमको परिभाषा अनन्त रहेछ
प्रेम एक विहंगम दृष्टि रहेछ
समुच्चा सृष्टिको मूलाधार रहेछ
सबैथोकको कच्चा पदार्थ रहेछ
प्रेम विराट आकाश रहेछ
स्वयं परमात्माको स्वरुप रहेछ
प्राणी प्रेमको निमित्तमात्र रहेछ ।
प्रेम विराट आकाश रहेछ
स्वयं परमात्माको स्वरुप रहेछ
प्राणी प्रेमको निमित्तमात्र रहेछ ।।